उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित र सहज बनाउने उदेश्यसहित रात्रिकालीन बस सेवा सञ्चालन गरिने भएको छ । रात्रिकालीन बस सेवालाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका तथा उपत्यकाका विभिन्न नगरपालिकाबीच समझदारी भएको छ ।
समझदारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिनेछ । रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गर्दै यात्रुलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको जनाइएको छ ।
प्रस्तावित योजना अनुसार जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा बस सञ्चालन हुनेछन् । त्यसैगरी, साविक लगनखेल–बूढानीलकण्ठ रुटलाई विस्तार गरी गोदावरीसम्म पु¥याउँदै ६ वटा बस सञ्चालन गरिनेछ । चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा गरी ८ वटा बस सञ्चालन गर्ने योजना छ ।
त्यस्तै, कीर्तिपुर–जमल रुटमा ४ वटा, टाखेल–ठमेल रुटमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ । यसरी प्रारम्भिक योजनाअनुसार उपत्यकाका विभिन्न रुटमा गरी जम्मा ३० वटा रात्रिकालीन बस सञ्चालन हुनेछन् ।
रात्रिकालीन बस सञ्चालनलाई आर्थिक रूपमा दिगो बनाउन नगरपालिकाहरूले लागत व्यवस्थापनको समेत सहमति गरेका छन् । समझदारीअनुसार यात्रुबाट प्राप्त टिकट बिक्रीको आम्दानीले बस सञ्चालनको खर्च नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन् ।
त्यसैगरी, बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा व्यहोर्ने व्यवस्था गरिएको छ । उक्त हिस्सामध्ये काठमाडौँ महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ ।
रात्रिकालीन बस सेवा विस्तार भएपछि रातको समयमा काम गर्ने कर्मचारी, व्यवसायी, विद्यार्थी, स्वास्थ्यकर्मी, यात्रु तथा अन्य सेवाग्राहीलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ । सार्वजनिक यातायातको नियमित सेवा समाप्त भएपछि निजी सवारी वा महँगो वैकल्पिक यातायातमा निर्भर हुनुपर्ने अवस्थालाई समेत यसले कम गर्न सक्ने विश्वास गरिएको छ ।
उपत्यकाका विभिन्न स्थानीय तहबीचको सहकार्यमा सञ्चालन हुने भएकाले सेवा नियमित र प्रभावकारी बनाउन रुट व्यवस्थापन, समयतालिका, यात्रु सुरक्षा, बसको उपलब्धता तथा सञ्चालनको अनुगमनमा समेत ध्यान दिनुपर्ने देखिन्छ । रात्रिकालीन सार्वजनिक यातायातलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन यात्रुको आवश्यकता र सञ्चालन लागतबीच सन्तुलन कायम गर्नु प्रमुख चुनौती हुने देखिएको छ ।


लेखकको सम्वन्धमा