युवाहरुको समस्यामा सम्वेदनहीन बन्दै सरकार

युवाहरुको समस्यामा सम्वेदनहीन बन्दै सरकार

रोजगार त परकै कुरा खोप समेत दिन सकेन

काठमडौ । नेपालको वर्तमान जनसांख्यिक बनौटलाई विश्लेषण गर्दा युवा उमेरका मानिसहरुको संख्यानिकै ठूलो आकारमा रहेको छ । संयक्त राष्ट्र संघले १५–२४ उमेर समूहलाई युवा भनी परिभाषित गरेको छ । यद्यपि, नेपालमा भने १६ देखि ४० बर्ष उमेर समूहका मानिसलाई युवा मान्ने गरिएको छ ।
नेपालले परिभाषा गरेको आधारबाट गणना गर्दा नेपालमा युवाहरुको संख्या झण्डै ३० प्रतिशतको हाराहारीमा रहेको छ । अर्थात, अहिलेको जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा युवाको रहेको छ । वास्तवमा कुनै पनि देशको आर्थिक विकास र समृद्धिका लागि युवाहरुको संख्या बढी हुनु राम्रो मानिन्छ । तथापि नेपालमा भने युवाहरुको संख्या दयनीय रहेको कारणले समस्या दिनप्रतिदिन बढदै गएको छ । आर्थिक विकास र समृद्धिका लागि आशातीत अपेक्षा ओझेलमा परेको छ ।
नेपालका युवाहरुमा काम गर्ने सामथ्र्य, क्षमता, जोश र जाँगर अत्यधिक मात्रामा छ । तर, नेपालमै उनीहरुका लागि काम गर्ने पाउने अवसरको निर्माण गर्न सकिएको छैन । यसका लागि विगतका सरकारहरुले कहिल्यै पनि महत्व र प्राथमिकताका साथ योजना निर्माण गर्ने र कार्यक्रम तर्जुमा गर्ने भूमिका निर्वाह गर्न सकेको देखिँदैन । जसले गर्दा युवाहरु बाध्य भई जीवन निर्वाहका लागि बैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना भएको छ । नेपाली युवाहरुलाई विदेशमा काम गर्न जानुपर्ने बाध्यताको नियति अहिले पनि उत्तिकै मात्रामा रहेको छ । तथापि वर्तमान सरकारले पनि यसतर्फ सोच्ने, विचार गर्ने र स्वेदशमै रोजगारीको आधार निर्माण गर्ने काम गर्ने संकेत देखाएको छैन ।

वर्तमान सरकारलाई निकै नै तामझामका साथ जनताको पक्षमा काम गर्ने सरकार बनेर प्रचार बाजी गराइएको छ । तर, गठन भएको दुई हप्ता बितिसक्दा पनि आन्तरिक भागबण्डामा सहमति कायम हुन नसक्दा मन्त्रिपरिषद् गठनले पूर्णता पाउने सकेको छैन । जसले गर्दा देश, जनता र विकास तथा पूर्वाधारको पक्षमा कुनै पनि नीतिगत निर्णयहरु हुन सकेको छैन ।

मौजुदा प्रधानमन्त्री र मन्त्रीहरुले यस विषयमा खासै चासो पनि दिएका छैन । उनीहरुको सम्पूर्णत ध्यान सत्तामा टिकिरहनका लागि कसलाई कसरी व्यवस्थापन गर्दा सजिलो हुन्छ त्यसतर्फ मात्रै ध्यान दिइरहेका छन । जसले गर्दा युवाहरुको मुद्दा र समस्या ओझेलमा परेको छ ।
उदेकलाग्दो सवाल त के छ भने– बैदेशिक रोजगारीमा जानका लागि तयार भएर बसेका नेपाली युवाहरुलाई कोभिड विरुद्धको खोप दिने कार्यमा पनि वर्तमान सरकारले उदासिनता देखाएको छ । युवाहरु बैदेशिक रोजगारीका जानका लागि भिषा लगाएर बसेका छन । तर, सरकारले उनीहरुलाई सहज रुपमा खोप उपलब्ध गराउनु सकेको छैन ।

अघिल्लो सरकारका पालामा भित्राइएका खोप र ल्याउन ग्यारेण्टी भएका खोपहरुको सरकारी पक्षबाटै दुरुपयोग भइको छ । जसले गर्दा विदेशमा काम गर्न जानतयार भएका युवाहरुले खोप पाएका छैन । यतिमात्र होइन सरकारले खोप लगाएको विवरण स्वतः प्रमाणिकरण गरिदिनु पर्नेमा त्यसमा पनि कन्जुस्याई गरेको छ ।

खोप प्रमाणिकरणका लागि प्रर्याप्त मात्रामा सेवाप्रदान गर्ने निकायहरुको व्यवस्था गर्नु पर्नेमा त्यस कार्यमा अलिकति पनि ध्यान दिएको छैन । जसले गर्दा युवाहरु खोपको अभाव र प्रमाणिकरणको अभावमा विदेश जानबाट रोकिनु पर्ने परिस्थिति निर्माण भैरहेको छ । युवाप्रति सरकारको समवेदनाहीनताको तस्वीर देखिएको छ ।

लोकप्रिय