पाँच महिनामा १४ करोडको नुन विक्रि
वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेडको वीरगञ्ज स्थित कार्यालयले चालु आर्थिक वर्ष २०७८(७९ को पाँच महिनामा १४ करोड रुपैयाँको नुन बिक्री गरेको छ । साउनदेखि मङ्सिर मसान्तसम्म १४ करोड ३५ लाख २५ हजार ३ सय २५ रुपैयाँ बराबरको नुन विक्री गरेको हो ।
कार्यालय प्रमुख अमोज लामिछानेले प्रदेश २ को ८ जिल्ला मध्ये पर्सादेखि सर्लाहीसम्मका ४ जिल्लामा साढे ७ हजार टन नुन बिक्रि हुँदा १४ करोड ३५ लाख आम्दानी भएको जानकारी दिए ।
कार्यालयले दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त प्याकेटको नुनसँगै ढिके नुन पनि बिक्रि गर्दै आएको छ । ढिके नुनको माग भने पहिलेको तुलनामा निकै घटेको कार्यालय प्रमुख लामिछानेले बताए ।
ढिके नुन पहिला धेरै नै आउँथ्यो, अहिले वर्षमा ३(४ र्याक आउँछ ।’ उनले भने ‘ त्यो पनि पहाडी जिल्लाका लागि हो, वर्षमा ५० हजार देखि १ लाखसम्मको बिक्रि हुन्छ ।’
कार्यालयले गत आर्थिक वर्ष ०७७(७८ मा २७ करोड १० लाख ५५ हजार ८ सय ५० रुपैयाँको नुन बिक्री गरेको थियो । वीरगञ्ज स्थित कार्यालयले नियमित रुपमा चिनी, रासायनिक मल र नुन बिक्रि गर्दै आएको छ ।
माग भएको खण्डमा हेटौंडा स्थित खाद्य उद्योगको पिठो, आँटा समेत बिक्रि गर्ने गरेको छ । राष्ट्रिय पत्रपत्रिकाका छपाईका लागि आवश्यक पर्ने प्रिन्टिङ पेपर पनि साल्ट ट्रेडिङले तेस्रो मुलुकबाट आयात गर्ने गरेको छ ।
कर्पोरेशनले बिक्री गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एसियामै सबैभन्दा सस्तो मानिन्छ । मानिस तथा जनावरको वृद्धि विकासका लागि आयोडिन नभई नहुने पदार्थ हो । आयोडिनको कमी हुँदा गलगाँड देखिन्छ । गलगाँड आएपछि काम गर्न, यताउता हिँडडुल गर्न, बोल्न अप्ठेरो हुन्छ । ठूलो भएमा श्वास नली नै थिचिएर मृत्यु हुने खतरा हुन्छ ।
त्यस्तै आयोडिनको कमीले मानिस सुस्त मनस्थितिको हुने, शारीरिक र मानसिक वृद्धि विकासमा असर पर्ने, बाम पुड्के, लठेब्रो हुने, सम्झना शक्तिमा कम र पढाईमा कमजोर हुने तथा गर्भवती महिलामा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चा मर्न सक्ने चिकित्सकहरु बताउँछन् ।
०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारी अवधारण अन्तर्गत कर्पोरेशनको स्थापना भएको थियो । कर्पोरेशनमा सरकारको २२ प्रतिशत शेयर लगानी छ । नेपालमा नूनको स्रोत छैन । तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालाई नून पुर्याउनु ठूलो चुनौती थियो ।
अत्यावश्यक दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवं त्यसबखत नूनको कारोबारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको थियो ।
पछि संस्थानले आफ्नै लगानीमा गोरखकाली रबर उद्योग लि, नेपालकै प्रथम खाद्य उद्योग लि।, नेपाल वनस्पती ध्यू उद्योग लि, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाईनान्स लि, सगरमाथा इन्स्योरेन्स, जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको पाइन्छ ।
संस्थानले देशभर रहेका आफ्ना कार्यालयहरु मार्फत दैनिक उपभोग्य बस्तु नुन, चिनी, चामल, दाल, अन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायत वस्तु बिक्री वितरण गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्