एमसीसी विवादले गठबन्धनमा संकट : एमाले पर्ख र हेरको अवस्थामा

एमसीसी विवादले गठबन्धनमा संकट : एमाले पर्ख र हेरको अवस्थामा

 

काठमाडौँ । एमसीसीका कारण सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच तीव्र विवाद बढेको छ । गठबन्धनमा एमसीसी टेबल हुने सहमति भएको भनिए पनि पछिल्लो समय गठबन्धनभित्र विवादले उग्र रुप लिन थालेको छ ।
आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल नहुने सम्भावना बढेपछि त्यसअघि तीन दलका प्रमुख नेताहरूबीच छलफल हुँदै छ ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई ‘बलजफ्ती’ एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
गठबन्धनको अर्को साझेदार एकीकृत समाजवादीले पनि यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने अडान राख्दै आएको छ । सहज विकल्प के हुन सक्छ भनेर पनि छलफल भएको पार्टीका एक नेताले बताए । ‘परिमार्जनको प्रयास अहिले पनि छ । त्यसका लागि आग्रह गरौं, मान्नै नहुने कारण के छ र भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘हाम्रा सरोकारमा उनीहरूलाई स्पष्टीकरण पत्र लेख्न लगाउने पनि एउटा विकल्प हो । सबैको साझा सहमति बनाएर संकल्प प्रस्ताव अर्को विकल्प हो ।’
अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि दबाबमा परेका प्रधानमन्त्री बुधबार नै टेबल गर्न प्रतिबद्ध छन् । उनले सम्झौता संसद्बाट पारित गराउन पार्टीबाट निर्णयसमेत गराएका छन् । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्न प्रधानमन्त्रीले अर्थमन्त्री जनार्दन शर्मालाई फोन गरेर आग्रह गरेका थिए । ‘तत्कालीन अर्थमन्त्रीले गरेको सम्झौता हो, त्यसैको निरन्तरताका लागि वर्तमान अर्थमन्त्रीका रूपमा तपाईंले टेबल गर्नुस्’ बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भनाइ थियो । तर शर्माले भने पार्टीले फरक मत राखेको र अरू प्राविधिक कारणले पनि आफू बुधबार बैठकमै अनुपस्थित हुने भएकाले विकल्प खोज्न सुझाव दिएका थिए । शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिएका छन् । अर्थमन्त्री रहेकै बेला २०७४ मा कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यता, एमसीसी सम्झौताका विषयमा सत्तारूढ गठबन्धनको एकीकृत धारणा माग गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी विरोध प्रदर्शनलाई बुधबार पनि निरन्तरता दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले विगतको जस्तो सभामुखविरुद्ध नाराबाजी जारी राख्ने बताए । उनले एमसीसी ध्वनि मतले पारित गर्ने हो भने संख्या पनि सावित गरेर देखाउन चुनौती दिए । त्यसोत एमाले एमसीसीका विषयमा गठबन्धनको एकीकृत धारणा नआएसम्म विषयमा पर्ख र हेरको अवस्थामा देखिएको छ । गठबन्धन टुटेमा भने कांग्रेससँग सहकार्य गर्ने एमाले स्रोतले जनाएको छ ।

 

 

लोकप्रिय