एमसीसी अनुमोदन : अमेरिकाद्वारा स्वागत
काठमाडौ । प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता बहुमतले पारित भएको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।
त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रस्ट पारेकाले भ्रममा नपर्न आग्रह गरेका थिए ।
‘एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पस्ट गरिसक्यो अब यसमा भ्रममा पर्न जरुरी छैन । राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न दिँदैनौ’, अर्थमन्त्री शर्माको जवाफ थियो । त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएको भन्दै संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने बताए । उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको विपक्षमा सरकार नजाने समेत बताए ।
केही सांसदहरुको असहमति कायमै
छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौतालाई खारेज गरेर महाकाली सन्धिमा लागेको कलङ्क अलिकति भए पनि मेटाउन आग्रह गरे । सुवालले यो दुई पक्षीय सम्झौता भएको र एकतर्फी घोषणा मान्य नहुने एमसीसी फातिमा सुमारले बताइसकेको अवस्थामा सरकारले ढाँट्ने काम किन गर्दैछ भनेर प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पास नगर्न सभामुखमार्फत सरकारलाई आग्रह गरे । पोखरेलले भने, ‘यस्तो बेलामा प्रतिनिधि सभाबाट जारी गरिने व्याख्यात्मक घोषणाप्रति हामी साच्चै इमानदार छौँ भने यो सदनबाट आज पारित नगरौँ ।’
नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाए । उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहत पु¥याउनका लागि रातारात संविधान मिचेर आएको बताए । यो भ्रामक घोषणा भएको बताउँदै उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भएको जिकिर गरे ।
एमालेले भन्यो–‘ल्याच्ने ठोक्ने पार्टीको राष्ट्रवाद उदाङ्गियो’
नेकपा एमालेले व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौता पारित भएसँगै ल्याप्चे ठोक्ने पार्टीको राष्ट्रवाद उदाङ्गो भएको बताएको छ । आइतबारको संसद् बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी पारितको विषयलाई नौटङ्कीको संज्ञा पनि दिएका छन् । ‘यो नौटङ्कीले देश दुनियाँ हाँस्ने छ । हामी गलत निर्णयमा उभिएका छैनौ’, भट्टराईको भनाइ छ ।
अमेरिकाद्वारा स्वागत
व्याख्यात्मक घोषणा सहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरिएसँगै अमेरिकी धारणा कस्तो आउला भन्ने जिज्ञासा आम सर्वसाधारणम थियो । तर अमेरिकाले संसदबाट अनुमोदन भएसँगै त्यसलाई स्वीकार गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही बेरमै आइतबार अबेर विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ । अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ ।
‘एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ दूतावासले भनेको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्नेछ ।’
दुई देशबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई अमेरिकाले निरन्तर समर्थन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्