काठमाडौंमा अध्यनरत दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो दिने
काठमाडौं । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन)चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।
धेरै आवेदन पर्यो भने दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राख्छौं,’ उनले भने,’हामीसँग उपलब्ध बजेट र विद्यार्थीहरुको माग संख्यालाई हेरेर चुल्हो खरिद हुन्छ ।’
मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताएका छन् ।
‘विद्यार्थीलाई पनि राहत हुने र स्वच्छ ऊर्जाको खपत पनि बढ्ने गरी विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न आवेदन मागेका हौ।,’ मजगैयाँले भने,’काठमाडौं बाहिरबाट आएर विश्वविद्यालयस्तरमा अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्नुहुन्छ ।
हेर्नुहोस् केन्द्रको सूचना
प्रतिकृया दिनुहोस्