यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेल नेपालले भारतसँग खेल्ने
काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आज मंगलबारबाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।
२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि, नेपाल उपाधी जित्नबाट चुकेको थियो ।
दोस्रो पटक बंगलादेशमा आयोजना भएको प्रतियोगितामा भने नेपालले भारत र बंगलादेश दुवै टोलीसँग पराजित हुन पुगेको थियो । समुह चरणबाटै बाहिरिएको नेपालका लागि यस पटक लगातार दुई संस्करणको विजेता टोली बंगलादेश र पछिल्लो संस्करणमा नेपाल भन्दा बलियो देखिएको भारतलाई जित्न कठिन हुनेछ ।
पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमार्फत जित निकालेको थियो । खेल १-१ बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल ३-१ ले विजयी रहृयो । दुई संस्करणको विजेता बंगलादेशसँग भने नेपालले चैत ३ गते खेल्ने छ ।


प्रतिकृया दिनुहोस्