आयोगमा दर्ता भएका सबै दल मिलेर आऊ, एमाले एक्लै लड्छ : ओली

आयोगमा दर्ता भएका सबै दल मिलेर आऊ, एमाले एक्लै लड्छ : ओली

 

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनभित्र एक्लाएक्लै लड्ने कि मिलेर एमालेसँग भिड्ने भने विवाद छ ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफू नेतृत्वको सरकार बनाउन र टिकाउन सहयोग गर्ने दलहरुसँग गठवन्धन गरेर चुनावमा जानु पर्ने पक्षमा छन् भने शेखर कोइराला समूह कांग्रेस एक्लैले चुनाव लड्नु पर्ने पक्षमा छ ।

माओवादी, नेकपा एसका नेताहरुले एमालेसँग लड्न गठवन्धन आवश्यक रहेको बताउँदै आएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेबाट फुटेर बनेको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले एमालेको जनाधार शून्यतिर पुगेको बताउने गरेका छन् भने सोही मञ्चमा एमालेसँग लड्न गठवन्धन आवश्यक रहेको बताएर आफ्नो भनाइ आफै खण्डन गर्दै आएका छन् ।

एमालेको जनाधार खस्किएको हो भने किन चाहियो गठवन्धन ? प्रचण्ड, नेपालप्रति प्रतिप्रश्न खडा भएको छ ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग आउने चुनावमा एक्लै भिड्छु भन्ने हिम्मत कसैसँग नभएको बताएका छन् ।

पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लैले देशब्यापी चुनाव जितेर देखाईदिने दावी गरेका छन् ।
सत्तागठवन्धनमा रहेका दलहरु एक्लाएक्लै चुनाव लड्न डराइरहेको देख्दा ओलीले भने झै एमाले धेरै शक्तिशाली भएको देखिन्छ । आधा भन्दा बढी मतदाता एमालेकै पक्षमा छन् जस्तो देखिन्छ । तर कांगे्रसको संस्थापनइतर पक्ष भने वामपन्थीहरु फुटेकाले कांग्रेस एक्लैले ५१ प्रतिशत सिटमा जित्न सक्ने दावी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्छु भन्ने आँट कसैले देखाउन नसकेको बताउँदै अरूको त के ल्याकत भयो र, कांग्रेसले पनि नसक्ने भनेर हात उठाएको बताएका छन् । कांग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाले ‘नचाहिने कुरा गर्ने ?

एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ’ भनेर हप्काएको प्रशंग कोट्याउँदै ओलीले देउवा एमालेका पाखुरा देखेर अत्तालिएको बताएका छन् ।
ओलीले अव एमालेसँग एउटा, दुईटा वा ५ वटा दल होइन निर्वाचन आयोगमा दर्ता भएका सवै दल एकातिर भएर आएपनि हराउन नसक्ने चेतावनी दिएका छन् ।

ओलीले अन्य दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिँदै एमालेसँग प्रतिस्पर्धा गर्न कसैले पनि नसक्ने दावी गरेका छन् ।
एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप लगाउँदै ओलीले एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेविरुद्ध विषवमन मात्र गर्ने गरेको बताए ।
यसैबीच अध्यक्ष ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।

देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने बताउँदै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने बताएका छन् ।

उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो भन्दै उनले उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्ने र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्ने बताएका छन् ।

लोकप्रिय