एमालेले जितेको तहमध्ये ५० प्रतिशत पाउनुपर्ने नेकपा समाजवादीको बटमलाइन
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको बटमलाइन’ अघि सार्ने भएको छ ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो ।
समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ । तर, समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्र रहेका काँग्रेस, माओवादी केन्द्र, समाजवादी र जनमोर्चाले सहमति जनाउँछन् या जनाउँदैनन् भन्ने अनिश्चित छ ।
गठबन्धन स्रोतका अनुसार नेकपा समाजवादीको प्रस्तावमा समाजवादी र जनमोर्चाले सहमति जनाउन सक्ने भएपनि खासगरी नेपाली काँग्रेसले के गर्छ भन्ने महत्त्वपूर्ण रहने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालले गठबन्धनमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे सामान्य छलफल भएपनि ठोस छलफल नभएको भन्दै आफ्नो पार्टीको बटमलाइन भने प्रस्ट रहेको बताए ।
‘अनौपचारिक रुपमा तालमेलका विभिन्न मोडालिटी भनेर बाहिर आइरहेका छन्, तर कुनैपनि दलले आफ्नो पार्टीको प्रस्ताव यो हो भनेर भनेको अवस्था छैन’, महासचिव भुसालले रातोपाटीसँग भने ‘हामीले एमालेले जितेका स्थानीय तहमध्ये ५० प्रतिशत पाउनुपर्छ भन्ने बटमलाइन बनाएका छौ ।’
महासचिव भुसालले सोही अनुसार आफ्नो पार्टीको तयारी रहेको समेत बताए । ‘हाम्रो बटमलाइन पनि त्यही हो र तयारी पनि त्यसैगरी गरिरहेका छौँ’, भुसालको भनाइ छ ।
पाँच दलीय सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा तालमेलका आधारमा निर्वाचन लड्ने बताउदै आएको छ । सोही अनुसार सोमबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले संयुक्त अपिल जारी गर्दै तयारी समेत गर्न आह्वान गरेका थिए ।
गठबन्धनबीच सवै तहमा चुनावी तालमेल गर्ने भनेपनि तालमेलको ‘मोडालिटी’बारे ठोस निर्णय भैसकेको छैन । गठबन्धनको आज मंगलबार अपरान्ह चार बजे बस्ने बैठकमा तालमेलको मोडालिटीबारे टुङ्गो लाग्ने काँग्रेस नेता तथा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्