स्थानीय निर्वाचनको अवस्थाबारे प्राध्यापकहरुबीच छलफल

स्थानीय निर्वाचनको अवस्थाबारे प्राध्यापकहरुबीच छलफल

 

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य एवं शिक्षा तथा मानव स्रोत विभागका इन्चार्ज गुरु बरालले स्थानीय निर्वाचनमा देशभरि एमालेका पक्षमा जनलहर बढेको बताउनुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको स्थानीय निर्वाचनमा प्राध्यापकहरुको भूमिका विषयक कार्यक्रममा नेता बरालले उक्त धारणा राख्नु भएको हो ।
नेता बरालले प्राध्यापकहरु समाजको सचेत वर्ग भएको हुँदा–तथ्यको आधारमा विषयहरुको यथार्थ पक्ष उजागर गर्नुपर्छ भन्नुभयो ।
उहाँले नेकपा एमाले सुशासन, समृद्धि, राष्ट्रियता, सामाजिक सुरक्षा र विकास लागि सही नीति लिएको र सरकारमा रहँदा त्यही अनुरुप काम गरेर देखाएको बताउनुभयो । ‘एमाले सरकारमा रहँदा भौतिक पूर्वाधार, सुशासन, संविधानको कार्यान्वयन, संघीयताको संस्थापना, सामाजिक सुरक्षाको क्षेत्रमा उल्लेखनीय काम भएको छ’–नेता बरालले भन्नुभयो ।
परमादेश बलमा बनेको गठबन्धन जुइनो स्थानीय निर्वाचनसम्म आइपुग्दा खण्डित भैसकेकोले निर्वाचनपछि यसमा संकट आउने नेता बरालले बताउनु भयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीले नेकपा एमाले देश, जनता र विकासको सवालमा ठीक नीति अवलम्बन गरेकाले जनआकर्षण एमालेका पक्षमा बढदै गएको बताउनु भयो । अध्यक्ष डा. केसीले आगामी दिनपनि संगठनले शैक्षिक सवालहरुमा प्राध्यापक र बुद्धिजीवीहरुबीच अन्तरक्रियाको श्रृंखला बढाउदै लैजाने जानकारी दिनु भयो ।
कार्यक्रमको सञ्चालन नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदम प्रसाद खतिवडाले गर्नुभएको थियो । सो अवसरमा संगठनका सचिवहरु क्रमशः होमबहादुर बस्नेतले प्रदेश नं. १, किशोर कुमार शाहले मधेश प्रदेश, देवराज अर्यालले वागमती प्रदेश, कृष्ण अधिकारीले गण्डकी प्रदेश, दिनेश पन्थीले लुम्विनी प्रदेश, तेजविक्रम बस्नेतले कर्णाली प्रदेश र मानवहादुर जोराले सुदुर पश्चिम प्रदेशको निर्वाचन स्थितिको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अनुसन्धानको आधारमा तयार पारिएको उक्त प्रस्तुति अनुसार स्थानीय निर्वाचनमा नेकपा एमालेको स्थिति अग्रस्थानमा रहेको विवरण उल्लेख गरिएको छ ।

 

लोकप्रिय