शीर्ष नेताहरुद्वारा आज भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने

शीर्ष नेताहरुद्वारा आज भरतपुरमा आयोजित  चुनावी सभालाई सम्बोधन गर्ने

 

काठमाडौ । सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ । आज मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने छन् ।
उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल विहान ९ बजेको उडानमा चितवन आउन लागेको खनालले बताए । उनका अनुसार गठबन्धनका शीर्ष ३ नेताका साथै अन्य १० जना केन्द्रीय नेताको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर काँग्रेसकै असन्तुष्ट पक्षले मेयरमा जगन्नाथ पौडेललाई बागी उम्मेदवार खडा गरेको छ ।
गठबन्धनका शीर्ष नेताले पौडेलको उम्मेदवार फिर्ताका लागि प्रयास गरेपनि उनी ब्याक हुन तयार भएनन् । पौडेलले भुइँकटहर चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै छन् । यता एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुङ मैदानमा छन् ।

लोकप्रिय