दैलेखकी १३ बर्षिया हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोग आव्हान
काठमाडौं,। चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का १३ वर्षीया हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको आग्रह गरेको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका हुन् ।
पत्रकार सम्मेलनमा शर्माले अस्पतालले दिएको सल्लाह अनुसार बच्चालाई उपचारको लागि विदेशतीर लैजान खोजेको भएपनि उपचारमा लाग्ने रकम आफुसँग नभएको जानकारी दिए ।
हिराका बुवा शर्माले काठमाडांैंमा भएका सबै अस्पतालमा उपचार गराएपनि ठिक नभएपछि अन्तिममा नर्भिक अस्पतालमा लगेको बताए । नर्भिक अस्पतालले आफ्नो बच्चाको उपचार नेपालमा सम्भव नहुने बताएपछि थप चिन्तित भएको सुनाए । अस्पतालकै सल्लाहमा विदेशतिर उपचार बारे बुझ्दा रोग निको हुने जानकारी पाएपनि ठुलो रकम लाग्ने भएपछि आत्तिएको सुनाए । शर्माले भने,‘अमेरिकाको सम्बन्धित रोग सम्बिन्ध अस्पतालमा बुझ्दा १ लाख ५ हजार ३२७ अमेरिकी डलर लाग्ने जानकारी पाए । त्यत्ति रकम अमेरिकी अस्पतालको खातामा जम्मा गरेपछि टिकेट काटेर आउनु भनिएको छ । तर, हामी सँग त्यत्रो रकम छैन् । मेरो बच्चाको उपचारको लागि सबैले सहयोग गरिदिनुहोला । छोरीलाई जसरी पनि हामी बचाउन चाहन्छौ ।’
उनले काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका जान अन्तर्वाता दिन जाँदा अस्पतालको नाम, चिकित्सकको नामसहित सबै प्रक्रिया लिएर आउन आग्रह गरेको भन्दै दुखेसो पोखे । उनले आफू अस्थायी शिक्षक भएको जानकारी दिँदै आफुले कमाएको पैसा सबै बच्चाको उपचारमा खर्चिएको सुनाए । उनले भने,‘नेपालका बिभिन्न अस्पतालले एमआरआई, भिडियो एक्सरे, एक्सरे, रगत जाँच जस्ता विभिन्न परीक्षण गर्न लगाएर २२ लाख रुपैयाँ खर्च गरायो । मलाई लुटियो ।’
शर्माले राज्यले सहयोग नगरेपनि देश विदेशमा बस्ने सबै नेपालीहरुले आफ्नो बच्चा जस्तै सम्झेर सहयोग गर्न अपिल गरे । उनले सबैलाई आफ्नो बच्चा बचाउँ अभियानमा सबैले साथ दिन पनि आग्रह गरे ।
जन्मिदा स्वस्थ जन्मिएका हिरालाई ९ वर्षदेखि युरिनरी ब्ल्याडर (२४ घण्टा पिसाब) भइरहने रोग लागेको थियो । शर्माले हिराको थप उपचारको लागि गाउँपालिका, प्रदेश सरकारमा सहयोगको अपिल गरेको तर, आजसम्म कतैबाट केही आश्वासन नपाएको दुखेसो पोखे ।उनले हिराले २४ घण्टा पिसाब गरिरहने भएपनि हिडडुल गर्न सक्ने बताए । तर, मृर्गौलाले काम गरेसम्म हिरा बाच्ने र मृर्गौलाले काम नगरेपछि उनको मृत्यु हुने आफुलाई चिकित्सकहरुले बताएको सुनाए । नेपालका अस्पतालहरुले छोरीको उपचार बारेमा दुई वटा सम्भावना दिएको स्मरण गर्दै शर्माले भने,‘एउटा पिसाब थैली बोकेर सधै हिड्ने र अर्को जहाँ उपचार सम्भव छ त्यहाँ लगिहाल्ने ।’
शर्माले अमेरिकाको अस्पतालले पनि रिसर्च र रिकन्स्ट्रसनको विधिबाट बिरामीको प्राकृतिक पिसाब गराउन सकिने आफुलाई इमेल गरेको सुनाए । उनले हिराको स्वास्थ्यपचारमा सहयोग गर्न चाहनेहरुलाई राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुर्खेतको खाता नम्बर ४००१०००३७३९१०१० र मोबाइल नम्बर ९८६८१८००६७ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्