कृषक समूहद्वारा अर्गानिक उत्पादनको प्रर्दशनी
दैलेख । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर हुने उद्देश्य सहित दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का किसानले पोषिलो खाद्य वस्तुको प्रर्दशनी गरेका छन् । वडा नम्बर ६ स्थित चाफाकोटमा एक कार्यक्रममा किसानहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत नुवाकोट ताजा तरकारी तथा फलफुल कृषक समूहका २८ कृषक र धार ताजा तरकारी तथा फलफुल कृषक समूहका २९ जना कृषक समूहमा आवद्ध छन् । कार्यक्रममा सम्पूर्ण किसानहरुको उत्साहजनक सहभागिता रहेको थियो भने कार्यक्रमबाट दुवै समूहलाई पुरस्कृत समेत गरिएको छ ।
प्रर्दशनीमा किसानहरुले स्थानीय उत्पादन साग, सिस्नो, कोदोका विभिन्न परिकार, मकै, गहुँका विभिन्न परिकार तथा अन्य स्थानीय विभिन्न जातका फुलफुल सहित कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा पूर्व सदस्य राजबहादुर बुढा क्षेत्रीले स्थानीय उत्पादनहरु समय अनुसार लोप हुँदै गएकोमा चिन्दा व्यक्त गर्दै त्यसको संरक्षणमा लाग्न किसानलाई आग्रह गरे । पछिल्लो समय स्थानीय स्तरमा पनि बजार तथा बाहिरबाट आयातित तरकारी तथा अन्य खाद्य वस्तुको आयात बढिरहेको भन्दै बुढाले स्वास्थयको लागि फाइदाजनक स्थानीय उत्पादनलाई बढवा दिन तर्फ किसानलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका पूर्व प्रमुख सूर्यबहादुर शाहीले स्थानीय उत्पादन स्वास्थ्यको लागि फाइदाजनक हुने भन्दै उत्पादन वृद्धिमा लाग्न किसानको ध्यान केन्द्रीत गरे । पछिल्लो समय सरकारी क्षेत्रबाट कृषिमा थुप्रै लगानी भएपनि त्यस अनुसारको प्रतिफल नपाएको भन्दै उनले किसानलाई उत्पादन तर्फ केन्द्रीत हुन आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय सुर्खेत र इन्भेस्टिकेटिभ इन रुलर पिपल (आइएफएडि)को सहयोगमा समूह अन्तर्गत कार्यक्रम सुरु भएको थियो । कृषि क्षेत्र विकास कार्यक्रमको अन्तर्गत दुई समूहको ३७ लाख र कृर्षकको सहलगानीमा कृषकहरुले विभिन्न मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएका छन् ।
कार्यक्रम अन्तर्गत टमाटर, बन्दा, काउलि, केराउ, भेडे खुर्सानी, मुला लगायतका तरकारी खेती गरिएको नुवाकोट ताजा तरकारी तथा फलफुल कृषक समूहका अध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । कार्यक्रमले कृषिकमा तरकारी खेती तर्फ उत्साह जगाएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्