निशुल्क स्वास्थ्य शिविरः स्थानीयको उत्साहजनक सहभागिता
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिमा आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा स्थानीयले उत्साहजनक सहभागिता जनाएका छन् । नगरपालिका वडा नम्बर ६ जम्बुकाँध स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा नगरका १ देखि ९ वडा तथा अन्य छिमेकी पालिकाहरुबाट समेत स्थानीयको सहभागिता रहेको थियो ।
चामुण्डाबिन्दासैनी नगरपालिका, स्वास्थ्य सेवा कार्यालय दैलेख र सेश द चिल्डेन, एभरेष्ट क्लव दैलेख अन्तरगत पहिलो कदम परियोजनाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरबाट स्त्री रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, नेत्र रोग विशेषज्ञ सेवा, हाडजोडर्नी तथा नसा रोग विशेष सेवा, बालबालिकाको पोषण जाँच तथा क्यान्सर सेवा लगायतका सेवाहरु प्रदान गरिएको स्वास्थ्य चौकी जम्बुकाँधले जानकारी दिएको छ । शिविरबाट महिला, पुरुष गरी १३ सय भन्दा बढि स्थानीयले सेवा लिएको स्वास्थ्य चौकी जम्बुकाँधका सहायक प्रमुख तुल्छी कार्कीले जानकारी दिएका छन् ।
विशेषज्ञ सेवा सहितका शिविर भएकाले स्थानीयको उत्साहजनक सहभागिता रहेको उनको भनाई छ । शिविरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. किशोर कुमार विष्ट, डा. धर्मराज रेग्मी, जनरल डा. दिपक खड्का लगायत, आधारभूत स्वास्थ्य इकाई लयाटीविन्द्रासैनी, जिल्ला स्वास्थ्य कार्यालय दैलेखका स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् ।
प्रतिकृया दिनुहोस्