निलम्बित जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ-सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले आज सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।
“पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अङ्गसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धबिच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ”, आदेशमा भनिएको छ, “सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।”
जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको छ ।
गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएपछि निलम्बनमा रहेका छन् ।
यसैबीच, आज सो मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा गिरी पत्नीले इजलासमै शङ्कास्पद वस्तु सेवन गरेपछि निजलाई अस्पताल लगेको बताइएको छ ।
सर्वोच्च अदालतको सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निजले शङ्कास्पद वस्तु सेवन गरेपछि उपचारका लागि वीरअस्पताल लगिएको हो । के सेवन गरिएको थियो भन्ने खुलेको छैन ।
के हो मुद्दा ?
३९ वर्षीय रावलले सुरुमा गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको थियो ।
पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर रातभर बलात्कार गरेको भन्दै रावलले अर्को मुद्दा दिइन् । सुरुको मुद्दामा वैवाहिक बलात्कारको आरोप लगाएकी उनले पछिल्लो मुद्दामा ‘बलात्कार’ को आरोप लगाएकी छिन् । आजको आदेश दोस्रो मुद्दाको हो ।
डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । त्यसमै टेकेर रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को मुद्दा हालेकी हुन् ।
रावलले जाहेरीमा उल्लेख गरेअनुसार पक्राउ पुर्जी जारी भएपछि गिरीले उनलाई फोन गरेर एक पटक जसरी पनि भेट्न आग्रह गरेका थिए । त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।
भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ । आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको र रात बिताएको उनले बताएकी छन् । आफूलाई रातभर गिरीले बलात्कार गरेको रावलले जाहेरीमा उल्लेख गरेकी छन् । राति १० बजेदेखि बिहान ३ बजेसम्म ८ पटक बलात्कार गरेको उनको आरोप छ । भोलिपल्ट बिहान गोङ्गबु प्रहरीले कोठामै आएर गिरीलाई पक्राउ गरेको थियो ।
न्यायाधीश गिरीसँग आरती रावलको विवाह २०७५ सालमा भएको थियो । तर आफूलाई केवल यौनदासीका रूपमा व्यवहार गरेको रावलको आरोप छ । विवाहपश्चात् आफ्नो गर्भ बसेपछि श्रीमानले गर्भपतन गर्न दबाब दिएको तर नमानेपछि कुटपिट गरेको उनले बताएकी छन् ।
प्रतिकृया दिनुहोस्