बालेन र सुधनविरुद्ध नेविसंघको जाहेरी

बालेन र सुधनविरुद्ध नेविसंघको जाहेरी

 

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न रहेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाली’का प्रतिनिधि सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य अशोकसिंह विष्टले काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन् । जाहेरीमा आन्दोलनको नाममा सरकारी तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुयाउने, युवाहरूलाई उक्साउने र निर्दोष विद्यार्थीहरूको ज्यान जाने गरी हिंसात्मक घटना गराउने कार्यमा बालेन र गुरुङको प्रत्यक्ष संलग्नता रहेको उल्लेख गरिएको छ ।
नेविसंघले उक्त घटनामा संलग्न जो कोहीलाई पनि मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम कारबाही गर्न माग गरेको छ । सो संहिताको दफा २८५ (२) (क) अनुसार सरकारी, सार्वजनिक वा निजी सम्पत्ति नष्ट गर्ने, वा त्यसको मूल्य, महत्व वा उपयोगिता घटाउने कुनै पनि कार्य कानुनी रूपमा आपराधिक मानिन्छ । जाहेरीमा भनिएको छ, ‘कथित जेनजी आन्दोलनका नाममा सयौँको संख्यामा भिड जम्मा भई प्रशासनिक कार्यालयहरू, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका भवनहरूमा तोडफोड, डकैती, चोरी, आगजनी र प्रहरी–विद्यार्थीको ज्यान जाने गरी आपराधिक उपद्र गरिएको छ ।’
नेविसंघले उक्त कार्यलाई मुलुकी फौजदारी संहिता, २०७४ का दफा १७७ (हत्या), दफा १७८ (हत्या गर्ने प्रयास), दफा २४४ (लुटपाट), र दफा २८५(२)(क) (सार्वजनिक सम्पत्तिको नाश) अन्तर्गतको गम्भीर आपराधिक कसुर रहेको दाबी गरेको छ ।
निवेदनसँगै घटनासम्बन्धी भिडियो, तस्बिर र फुटेजहरू भएको पेन ड्राइभ प्रमाणका रूपमा बुझाइएको छ । प्रहरीका अनुसार जाहेरीबारे सरकारी वकिलको कार्यालयसँग कानुनी परामर्श लिएर अघि बढ्ने तयारी भइरहेको छ ।
नेविसंघले जाहेरी २४ घण्टाभित्र दर्ता नभए सडकमा उत्रिने चेतावनी पनि दिएको छ । केन्द्रीय सदस्य विष्टका अनुसार, ‘यदि प्रहरी प्रशासनले हाम्रो जाहेरी दर्ता नगरेमा नेविसंघले देशव्यापी विरोध प्रदर्शन गर्नेछ ।’
यसअघि पनि एमाले निकट अनेरास्ववियुले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दर्ता गराइसकेका थिए । ती जाहेरीहरू जाँचबुझ आयोगमा पठाइएका भए पनि अहिलेसम्म सो सम्बन्धमा ठोस कारबाही अघि बढेको छैन ।

लोकप्रिय