आदिवासी महिलाको भूमि अधिकार खोसिँदै गएकोमा चिन्ता व्यक्त
ललितपुर । आधुनिक विकासको नाउँमा आदिवासी भूमिमाथि अतिक्रमण बढ्दै गएकोमा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । फोकस फर इन्डिजिनियस गर्ल्स (फिग)ले शनिवार आयोजना गरेको छलफलमा बोल्दै आदिवासी समुदायका अभियन्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
काठमाडौँको शंखरापुर बोझेनीका तामाङ समुदायले अपर तामाकोसी हाइड्रोपावरको सबस्टेशन निर्माण गर्दा ती समुदायले पुर्ख्यौली भूमि माथि महिलाको स्वामित्व, भूमिसँग जोडिएका सभ्यता, संस्कृति समेत लोप हुँदै गएको टिप्पणी गरे ।
फिगले बोझेनीको सङ्घर्षलाई १ वर्षदेखि स्थलगत अध्ययन गर्दै आएको अध्यक्ष सवनम लामाले जानकारी गराईन् ।
ूभूमि र माटोबारे जानकारी नभई पहिचानलाई पूर्णरूपमा आत्मसात गर्न सकिँदैन ‘भूमि अधिकार’ आदिवासी महिला तथा किशोरीको एक समसामयिक मुद्दा’ शीर्षक माथि आयोजित छलफलको उद्देश्यबारे प्रष्ट पार्दै फिग अध्यक्ष लामाले बताइन् ।
छलफल कार्यक्रमका संयोजक एवम् फिग उपाध्यक्ष अकिना सिंह सुवालले भूमिको महत्वबारे आदिवासी समुदायको नयाँ पुस्तालाई जोड्न छलफल कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले बोझेनी आन्दोलनलाई एक वर्षदेखि नजिकबाट अध्ययन गर्दै आएको उल्लेख गर्दै, महिलाहरूले भूमिको रक्षा गर्न गरेको प्रतिरोध नै छलफल आयोजनाको आधार भएको बताइन् ।
कार्यक्रममा लेखक कैलाश राई, बोझेनीकी दिलमाया तामाङ र सुनकोसी परियोजनाबाट प्रभावित समुदायकी ममता माझीले मुख्य वक्ताका रूपमा आ–आफ्ना धारणा राखे । वक्ताहरूले भूमि अतिक्रमणले महिलाको अधिकार मात्र नभई संस्कृतिको समेत क्षति पुगेको जनाए ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा र मानव शास्त्री डा। मुक्त सिंह तामाङले भूमि अधिकार सुरक्षित नगरी महिलाको सशक्तीकरण सम्भव नहुनेमा जोड दिए ।
यसैगरी, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले फिगको अभियानलाई साथ दिने प्रतिबद्धता जनाए ।
फिगले गत वर्षदेखि बोझेनी आन्दोलनबारे स्थलगत अध्ययन गर्दै फोटो र भिडियो सामग्री सङ्कलन गरेको छ, जसलाई ‘ह्युलसा साप्राला ह्याङ’ नामक प्रदर्शनीमार्फत सार्वजनिक गरिएको थियो।
छलफलले आदिवासी महिलाको अधिकार रक्षा गर्न भूमि संरक्षणलाई अपरिहार्य मान्दै, नयाँ पुस्तालाई आफ्नै थातथलो र पहिचानसँग जोड्ने संदेश दिएको छ ।
आयोजकहरूले कार्यक्रमको प्रारम्भमा नेवाः समुदायका पुर्खाहरूको स्मरण गरेका थिए ।


प्रतिकृया दिनुहोस्