मुल्य वृद्धिको विरोधमा जनता सडकमा उत्रने बेला आएको छ

मुल्य वृद्धिको विरोधमा जनता सडकमा उत्रने बेला आएको छ

कृष्ण बहादुर राउत

युवा नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी

कृष्ण बहादुर राउत राप्रपाभित्र चिरपरिचित नाम हो । उहाँ राप्रपाको केन्द्रीय सदस्यमा पटक पटक रहनु भएको थियो, तर यस पटकको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा थोरै मतले पराजित हुनु भयो । राप्रपाका युवा नेता राउत पार्टीको केन्द्रीय समितिमा नरहे पनि पार्टीलाई बलियो बनाउन निरन्तर लागि रहेको बताउनु हुन्छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा राउत राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, नेपालको महासचिव हुनु हुन्छ । उहाँ विश्व ट्रेड यूनियन महासंघ नेपालको सदस्य समेत रहनु भएको छ । प्रस्तुत छ राप्रपाका युवा नेता कृष्णवहादुर राउतसँग गरिएको कुराकानी :

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
यतिबेला मुलुकको राजनीति जनताले सोचे जस्तो छैन । संघीय गणतन्त्रमा विकृति विसंगति भयो । आपसमा द्वन्द्व निम्तिने अवस्था छ । हाम्रो शान्त देशलाई संघीयताको मारमा पारेर प्रमुख दलहरु अघि बढिरहेको देखिन्छ । एक राजा भएको ठाउँमा सयौं राजा भएर देश अस्तव्यस्त पारेका छन् । संघीयताले देशैं असफल पार्ने संकेत देखिदैछ । सरसर्ती हेर्दा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राम्ररी चलेको छैन । सत्तारुढ गठबन्धनका दलहरु आपसी स्वार्थमा लिप्त छन् भने प्रमुख प्रतिपक्षी दल एमाले आफ्नै तालको राजनीति गरिरहेको छ । व्यापक विरोधपछि प्रधानन्यायाधीशमाथि संसदमा महाअभियोग प्रस्ताव लगाइएको अवस्था छ । प्रमुख प्रतिपक्ष एमालेले संसद चल्न दिएको छैन । यसरी हेर्दा प्रमुख दलहरुकै कारण जनताले अहिलेको अवस्था भोग्नु परेको हो ।

देशव्यापी भइरहेको महँगीलाई कसरी लिनु भएको छ ?
मुलुकमा लगातार पेट्रोलियम पदार्थमा महँगी भइरहेको छ । जनताले जति विरोध गरेपनि सरकारी तबरबाट कुनै सुनुवाई भएको छैन । नुन, तेल, चामललगायतका खाद्यान्नमा भइरहेको मुल्य वृद्धिमा पनि सरकारी निकाय मुकदर्शक भएर बसिरहेका छन् । अब मुल्य वृद्धिको विरोधमा जनता सडकमा उत्रने बेला आएको छ । मुल्य वृद्धिको विरोधमा हुने आन्दोलनलाई राप्रपाले पनि साथ दिनेछ ।

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छाड्नुलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
उहाँ मुल पार्टीमै रहेर संघर्ष गर्नु पर्ने थियो । उहाँ महाधिवेशनमा हारे पनि वरिष्ठ नेता हुनु हुन्थ्यो । तर उहाँले राप्रपा नेपाललाई न्यूताएर अघि बढ्नु भएको छ । देशव्यापी रुपमा उहाँले राप्रपा छोड्दा नराम्रो सन्देश गएको छ । उहाँले पार्टी छोड्दा हामी दुःखित छौं ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई यहाँले कसरी लिनु हुन्छ ?
जनताको अाँखा छलेर रातारात पारित भएको एमसिसीको हामी तीव्र विरोध गर्दछौं । एमसिसी विरोधमा देशव्यापी रुपमा विरोध गर्नुपर्ने आवश्यकता देखिन्छ । अब एमसिसीका पक्षमा लाग्ने, एमसिसी पारित गर्ने दलहरुलाई आगामी निर्वाचनमा जनताले सबक सिकाउनुपर्छ ।

लोकप्रिय