भोकमरीको अन्त्य गर्ने लगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ; प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीति लिएको बताए ।
प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाइँदै छ ।
परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको बताएका छन्।
नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको उनले बताए । “भोकमरीको अन्त्य गर्ने लगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ”, प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख रहेको छ ।


प्रतिकृया दिनुहोस्