गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति

गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति

काठमडौं, साउन १७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि बोर्ड अफ पिसले सम्झौता गरेको बताएका छन् । हमासका एक वरिष्ठ अधिकारीले अन्तराष्ट्रिय समाचार एजेन्सीलाई सङ्गठन गाजामा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने योजनामा सहमत भएको बताएका छन् । उनका अनुसार यसबारे औपचारिक वक्तव्य चाँडै सार्वजनिक गरिनेछ ।
इजरायलले भने अहिलेसम्म सम्झौताबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। ट्रम्पले निःशस्त्रीकरण प्रक्रिया पूरा हुँदै गएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताएका छन्। उनले यसलाई गाजामा अन्ततः नयाँ प्यालेस्टिनी सरकारको शासन स्थापना गर्ने दिशामा ‘महत्वपूर्ण कदम’ भनेका छन् ।
बोर्ड अफ पिसले यो सम्झौतालाई ‘ऐतिहासिक सफलता’ भनेको छ । बोर्डका अनुसार अमेरिकी राष्ट्रपतिको गाजामा नयाँ शासन, सुरक्षा, मानवीय राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानको दृष्टिकोण अघि बढाउन महिनौंसम्म गहन र सद्भावपूर्ण वार्ता भएको थियो ।
बोर्डले जारी गरेको वक्तव्यमा पहिलोपटक हमासले आफ्ना सबै हतियार त्याग्नका लागि कार्यान्वयनयोग्य योजनामा औपचारिक रूपमा प्रतिवद्धता जनाएको उल्लेख छ । त्यसपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताइएको छ ।
हमासका वार्ता टोलीका एक वरिष्ठ सदस्यले वार्ता “लामो र अत्यन्त कठिन” भएको बताए । उनका अनुसार हमासले आफ्ना हतियार इजरायललाई बुझाउनेभन्दा प्यालेस्टिनी निगरानीमा हतियारको सूची तयार पार्ने र सुरक्षित भण्डारण गर्ने भाषा प्रयोग गर्न जोड दिएको थियो ।

लोकप्रिय