मन्त्रिपरिषदको किचलोको कारण संघ र प्रदेशको चुनाव घोषणामा ढिलाई
काठमाडौं । पाँचदलीय गठबन्धन सरकार मन्त्रिमण्डल हेरफेर गर्ने बिवादका कारण संकटमा फस्दै गएको छ । खासगरी नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजबादी पार्टीले मन्त्री हेरफेरको लागि गरेको सिफारिसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लत्याइदिएका छन । जसका कारण गठबन्धन सरकारबाट नेकपा एस फिर्ता हुने हल्लाहरु पनि बाहिर आएका छन ।
पार्टीबाट मन्त्री बनेकाहरुले नै प्रधानमन्त्री देउवासँग मिलेर चलखेल गरेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेत झलनाथ खनाललगाएका नेताहरु क्रद्ध बनेका छन ।
हाल शहरी बिकास मन्त्री रहेकी रामकुमारी झाक्री मन्त्रीबाट नहटने बरु नेकपा माओवादी केन्द्रमा गएर भएपनि मन्त्री पद जोगाउने मनस्थितिमा पुगेको उनी निकटका कार्यकर्ताहरुले बताउने गरेका छन ।
पयर्टन मन्त्री पे्रमबहादुर आले भने नेपाली काँग्रेसमा प्रवेश गरेर भएपनि मन्त्री पद जोगाउने दाउमा लागेको आरोप लाग्न थालेको छ । ०७८ भदौमा एमालेबाट बिद्रोह गरेर नेकपा एस पार्टी गठन गरेको छोटो समयमा सो पार्टीमा देखिएको गाइजात्रे पाराका कारण पार्टी नै बिघटनको डिलमा पुग्न थालेको आशंका हुन थालेको छ ।
मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन ।
प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर २०७९ असार ८ गते बुधबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री आले र शहरी विकासमन्त्री झाक्रीले असहमति प्रकट गर्दै आएको बताइएको छ ।
उक्त दिन कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै शहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएको समाचारस्रोतको दावी गरेको छ ।
मन्त्री झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको उक्त समाचारस्रोतको दावी रहेको छ ।
अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताएका छन । उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेको बताइएको छ ।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्वीकार गरेका थिए । स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए ।
कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा सर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि २०७९ असार ८ गते बुधबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको बताइन्छ ।
नेकपा एसको मन्त्री हेरफेरका बिषयका कारण बर्तमान देउवा नेतृत्वको सरकार पुरै बदनाम हुन पुगेको छ । यस्तै सरकारले आर्थिक वर्षको लागि जारी गरेको बजेट पारित भएसँगै संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने सोच बनाएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा अमेरिका भ्रमण सकेर फर्किए लगत्तै मिति घोषणा गर्ने प्रपंच भइरहेको छ । त्यसअघि नै निर्वाचन आयोगले आगामी कात्तिक अन्तिम हप्ता र मंसिर पहिलो साता भित्र निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ । आयोगले दिएको सुझावलाई मध्यनजर गर्दै अगाडि बढन आफु तयार रहेको जनाउ प्रधानमन्त्री देउवाले दिइसकेका छन । तर सत्ता साझेदार दल नेकपा एस भने मन्त्री हेरफेरको मुद्दामा अल्झिदै आएको छ । जसका कारण एस पार्टी बदनाम हुँदै गएको छ ।


प्रतिकृया दिनुहोस्