आइसिसी विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

आइसिसी विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

काठमाडौँ । क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । तेस्रो पराजय बेहोर्ने क्रममा नेपाल आइतबार बिहान सम्पन्न खेलमा क्यानडासँग ५ विकेटले पराजित भयो ।

नेपाल पहिलो खेलमा क्यानडासँग नै १ सय ३ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले स्तब्ध भयो । जारी श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रनमै अलआउट भयो ।

नेपालका लागि खेलमा सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा पाँच चौका र एक छक्कासहित ४९ रन बनाए । उनको यो अन्तर्राष्ट्रिय क्रिकेटमा करियरकै उत्कृष्ट ब्याटिङ हो । उनले सोमपाल कामीसँग ५५ रनको साझेदारी गर्दै टिमको पारी केही हदसम्म उकासे । सोमपाल ३८.४ ओभरमा २१ रनमा आउट हुँदा नेपाल ८ विकेट गुमाएर १४२ रन जोडेको स्थितिमा थियो ।

उनी आउट भएपछि केही समय सन्दीप र करण क्रिजमा जमे । करण र सन्दीपबीच ३९ रनको साझेदारी बन्दा नेपालले १८१ रन जोड्यो । यस खेलमा करणले २८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । यस्तै गुल्सन झा ले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले राम्रो अंक जोड्न सकेनन् ।

बलिङमा क्यानडाका लागि कलीम सानाले तीन, डिलन हेलिगर र हर्ष ठाकरले दुईरदुई तथा सादबिन जाफर र प्रवीण कुमारले एकरएक विकेट लिए । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि नवनीद धालिवालले ८७, प्रगत सिंहले ६४, हर्ष ठाकरले १३ तथा कप्तान निकोलस किर्तनले अविजित ११ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ४२ रन दिएर सर्वाधिक २ विकेट लिए । यस्तै, करण केसी, गुलशनकुमार झा र ललितनारायाण राजवंशीले एकरएक विकेट हात पारे । टिमका सर्वाधिक अनुभवी बलर सोमपाल कामी भने तेस्रो खेलमा पनि विकेटविहीन रहे । उनले यस खेलमा ६ ओभरमा बिनाविकेट २६ रन दिए ।

यो जितपछि क्यानडा लिग–२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ११ म्याच खेल्दा १४ अंक जोडिसकेको छ । नेपाल भने तालिकाको सातौं स्थानमै छ । नेपालले अहिलेसम्म सात म्याच खेल्दा ६ मा पराजय र एक खेलमा मात्र जित दर्ता गरेको छ । नेपालले अब लिग–२ मा सातौं खेल मंगलबार ओमानसँग खेल्ने तालिका रहेको छ ।

लोकप्रिय