बिहीबार देखि सुरु हुँदै साफ महिला च्याम्पियनसिप

बिहीबार देखि सुरु हुँदै साफ महिला च्याम्पियनसिप

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(बिहीबार) देखि ३० सम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ तयारी पुरा भएको जानकारी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो ।

प्रतियोगितामा नेपाल लगायत मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदै छन् । सहभागी टोलीहरू मध्ये पाकिस्तान, मालदिभ्स र बंगलादेश आइसकेका छन् भने भारत र भुटान बुधबार बिहानसम्म काठमाडौ आइपुग्ने जानकारी गराइएको छ । प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीन सय रुपैयाँ र भिआइपी तर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

नकआउट चरणका खेलहरूको टिकट दर साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ, भिआइपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको छ । प्रतियोगितामा १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

लोकप्रिय