अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्यो टी–२० आई सिरिजमा क्लिन स्विप

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो ।
आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ । सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो । तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो ।
घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए । मिलिन्द कुमारले ४३ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए ।
एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ओभरमा लक्ष्य पुरा गर्यो । नेपालका लागि आशिफ शेखले अर्थशतक पूरा गरे । शेखले ३८ बल ५० रन पुरा गरेका हुन् । अनिल शाह १३ रन बनाएर आउट भए । कुशल भुर्तेल ४० रनमा नटआउट हुँदा कुशल मल्ल ४४ रन बनाएर क्रिजमा रहे ।
दोस्रो खेलमा भुर्तेलले ९२ रन बनाएका थिए । उनले सात महिना पछि टी–२० क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन् । नेपालले ६ महिनापछि लगातार तीन खेलमा जित दर्ता गरेको छ ।
पछिल्लो समय खराब फर्मबाट गुज्रिएको भए पनि यो सिरिजले नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ । कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिगटू सिरिज खेल्ने तालिका छ ।
प्रतिकृया दिनुहोस्