सुपर ओभरमा विराटनगरमाथि पोखराको जित

सुपर ओभरमा विराटनगरमाथि पोखराको जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ । पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो । विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ ।

एनपिएलकै पहिलो सुपर ‍ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए । जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे । तेस्रो बल डट भयो । चौथो बल चौका भयो । पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं बलमा गौसले एक रन लिए। सुपर ओभरमा पोखराले १८ रन जोड्यो ।

सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए । बलिङमा पोखराका रेइफर थिए । पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके । दोस्रो बलमा पनि किर्टोनले एक रन लिए । तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके । चौथो बल डट भयो । पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो । छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो । त्यसअघि दुवै टोलीले २० ओभरमा १३९, १३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

 

लोकप्रिय