तीनकुनेमा सुरक्षा व्यवस्थामा कडाई, गोली चलाउनसम्मको आदेश

तीनकुनेमा सुरक्षा व्यवस्थामा कडाई, गोली चलाउनसम्मको आदेश

काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा जारी तनाव नियन्त्रण गर्न नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ । राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको हो । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार अपराह्न ४ः२५ बजेबाट राति १० बजेसम्म कर्फ्यु लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निम्न क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारको भेला, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ ।

कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीगाँउ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म जारी गरिएको छ ।

तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा तोडफोड, झडप र आगजनी भएका कारण प्रशासनले तत्काल सुरक्षा कदम चालेको हो । यसअघि दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा निजी सम्पत्तिमाथि क्षति पुर्याइएको थियो । स्थिति गम्भीर बन्दै गएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च अधिकारीहरूको बैठकमा कर्फ्यु आदेशको समीक्षा तथा सुरक्षा रणनीति तय गरिएको छ ।

उपत्यका प्रहरीले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले गोली चलाउनसम्मको आदेश पाएको छ । प्रशासनले कर्फ्यु आदेशको कडाइका साथ कार्यान्वयन गर्ने बताएको छ । सुरक्षाकर्मीको तैनाथी बढाइएसँगै तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । आन्दोलन अहिले पनि नियन्त्रण बाहिर रहेको छ ।

लोकप्रिय