नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।
राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ ।
अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । विसं। २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।
अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।
सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।
आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाउनुभयो ।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।
प्रतिकृया दिनुहोस्