विमलेन्द्र र सुजाता भारतका मन्त्रीहरूसँग भेटघाट गर्दै
काठमाडौँ । नेपाली कांग्रेसका दुई शीर्ष नेता अहिले भारत भ्रमणमा छन्। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सुजाता कोइराला भारतमा छन्। निधि र कोइराला सँगसँगै भारत गएका भने होइनन्। उनीहरू बेग्लाबेग्लै कार्यक्रममा सहभागी छन्। निधि र कोइरालाले भारतमा राजनीतिक भेटघाटसँगै अरू विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गरेका छन्।
कोइरालाले बिहीबार भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्। भेटवार्ताका तस्बिर सार्वजनिक गरे पनि सुजाताले भेटबारे अन्य कुरा खुलाएकी छैनन्।सुजाता फिल्मसम्बन्धी कार्यक्रममा भाग लिन भारत गएकी थिइन्। सो क्रममा उनले राजनीतिक भेटघाट पनि गरेकी हुन्।
निधि भने केही समयदेखि नै भारतमा छन्। निधिले सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग पनि भेटवार्ता गरिसकेका छन्। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको कार्यालयमा गत बुधबार निधि र चौथाइवालेबीच करिब एक घन्टा कुराकानी भएको थियो।
नेपाल(भारत तथा नेपाली कांग्रेस र भाजपाबीच सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने विषयमा उनीहरूबीच कुराकानी भएको थियो। निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा पनि कुरा राखेका थिए।
यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रूपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गरेका थिए। चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए। यसैबीच निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ।
निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ। गत बुधबार नै भएको भेटमा दुबै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको हो।
निधिले अहिले जारी राखेको भारत भ्रमणका क्रममा नेपालमा बनेको धनुष राम मन्दिरमा राख्न विशेष पहल गरेका छन्।निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ।
बिहीबार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भएको एक घन्टा लामो छलफलमा धनुष राख्ने विषयमा छलफल भएको हो। प्रधानमन्त्री संग्रहालयका अध्यक्षसमेत रहेका मिश्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वप्रधान सचिव हुन्।
त्यस अवसरमा राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा छलफल भएको थियो। निधि सँगको भेटमा उनले यसबारे दुबै देशका सरकारबीच छलफल गरी प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन्।
गत शुक्रबार अयोध्या पुगेका निधिले धनुष र शिलाका विषयमा राखेका प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने प्रतिवद्धता जनाएका थिए।
पछिल्लो समय प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि भारत गएर फर्केकी छन्। भारतमा आरजुको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो। स्वास्थ्यलाभपछि आरजुले गत साउन १२ मा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन्।


प्रतिकृया दिनुहोस्